एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ७
: भारतका विद्युत् तथा आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने आधिकारिक भ्रमणका लागि नेपाल आउन लागेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर आगामी ९ वैशाखमा नेपाल आगमन गर्ने कार्यक्रम रहेको छ। ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।भ्रमणका क्रममा ९ वैशाखमा खट्टर र मन्त्री खड्काले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा तुम्लिङटार, बानेश्वर र बसन्तपुरस्थित विभिन्न सबस्टेसनहरूको संयुक्त रूपमा उद्घाटन गर्नेछन्। उद्घाटन कार्यक्रम संखुवासभाको तुम्लिङटार सबस्टेसनमा हुने छ।

त्यस दिन खट्टरले भारतले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम छ। साथै, नेपाल–भारत संयुक्त रुपमा निर्माण गर्न लागिएको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर पनि सोही दिन हुनेछ।१० वैशाखमा खट्टरले मुस्ताङस्थित मुक्तिनाथको अवलोकन भ्रमण गर्नेछन्। सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

उनले सोही दिन साँझ पशुपतिनाथ मन्दिर दर्शन गरी भारत फर्कने कार्यक्रम तय गरिएको छ।