एसपी रिपोर्टर
सप्तरी, वैशाख ७
: शिक्षा विकास कार्यालय सप्तरीमा आइतबार तालाबन्दी गरिएको छ। मधेश प्रदेश सरकारबाट विद्यालयहरूको शिक्षा विकास तथा भौतिक निर्माणका लागि पठाइएका योजनासम्बन्धी चिठीहरू सम्बन्धित वडा कार्यालयसम्म नपुगेको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारूका अनुसार, योजनाका चिठीहरू वडा कार्यालयमा पुग्नु अगावै प्रदेश राजधानी जनकपुरमै कमिसन लिएर बिक्री गरिएको विरोधमा तालाबन्दी गरिएको हो। “धेरैजसो चिठीहरू जनकपुरमै कमिसनको आधारमा बिक्री भइसकेका छन्, बाँकी रहेका चिठीहरू पनि व्यक्तिले व्यक्तिगत रूपमा बेच्ने तयारीमा रहेको थाहा पाएपछि हामी तालाबन्दी गर्न बाध्य भयौं,” उनले भने।थारू कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालयजस्तो संवेदनशील क्षेत्रसमेत राजनीतिकरणका कारण प्रभावित भएको गुनासो गरे। “राजनीतिक हस्तक्षेपका कारण शिक्षा क्षेत्रको स्तर झनै कमजोर हुँदै गएको छ,” उनले भने, “प्रदेश सरकारबाट आएको बजेट समयमै सदुपयोग नहुने देखिएकाले यसप्रति गम्भीर हुन आग्रह गर्दछौं।”यसअघि, चैत २९ गते पनि खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत सामाजिक विकास एकाइ कार्यालयमा पठाइएको योजनासम्बन्धी अधिकांश चिठी कार्यालय प्रमुख शुशिल झाले जनकपुरमै कमिसन लिएर बिक्री गरेको आरोप लगाउँदै जनमत पार्टीका संसदीय दलका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवको अगुवाइमा तालाबन्दी गरिएको थियो।

नेता यादवले योजनाका चिठीहरू कार्यालयमार्फत होइन, बाटोमै बिक्री गर्नु गलत भएको जिकिर गर्दै भने, “कार्यालय प्रमुखले बदमासी गर्छन्, तर सांसदहरूले योजनाबारे आरोप खेप्नुपर्छ। त्यसैले अबदेखि चिठीहरूको वितरण सम्बन्धित कार्यालयबाटै पारदर्शी ढंगले हुनुपर्छ।”