एसपी रिपोर्टर
काठमणडौं, वैशाख ७ : जारी शैक्षिक हड्तालको सन्दर्भमा नेपाल शिक्षक महासंघले निजी विद्यालयहरूलाई पनि बन्द गर्न आग्रह गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै संस्थागत विद्यालयहरूलाई समेत हड्तालमा सहभागिता जनाई विद्यालय बन्द गर्न अनुरोध गरेको हो।
“शैक्षिक आमहड्तालको यो अभियानलाई सफल बनाउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।महासंघले देशभरका सबै विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौंमा आन्दोलनमा सहभागी हुन शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ।यसबाहेक, आन्दोलन जारी रहेको अवधिमा विद्यालय सञ्चालन नगर्न, प्रवेश परीक्षा तथा ग्रेड वृद्धि परीक्षा सञ्चालन नगर्न, उत्तरपुस्तिका परीक्षण नगर्न, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता गतिविधिमा संलग्न नहुन महासंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।
महासंघले कक्षा १२ को परीक्षामा पनि संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।


