एसपी रिपोर्टर
रौतहट, वैशाख ७ : जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा मातहतका युनिटहरूले पछिल्लो ९ महिनाको अवधिमा नियमविपरीत चलेका सवारीसाधनहरूलाई कारबाही गरी १ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार, गत साउनदेखि चैत मसान्तसम्म रौतहट जिल्लाभित्र नियम उल्लङ्घन गर्ने ११ हजार ४८९ सवारीसाधनलाई कारबाही गरिएको छ। सो कारबाहीबाट कूल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।उक्त अवधिमा जिल्लाभर ५४९ सवारी दुर्घटना भएकोमा ३८ जनाको मृत्यु भएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए। दुर्घटनामा परेर ६६ जना गम्भीर घाइते तथा ८३६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरीले सोही अवधिमा विद्यालय, सडक तथा सार्वजनिक स्थानहरूमा २ हजार ३९९ सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। ती कार्यक्रममा ५३ हजार ९३६ जना सहभागी भएका थिए।
कम जनशक्तिको बाबजुद पनि प्रमुख पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती, चन्द्रनिगाहपुर, गौर, चन्द्रपुर सडकखण्डका साथै दुमारिया, गरुडा, शिवनगर, सुकदेव चौक, बमनहर, गौरलगायत ग्रामीण क्षेत्रहरूमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।


