एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूलाई पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक बिक्री नगर्न र विद्यार्थीहरूलाई तोकिएको स्थानबाट पोशाक खरिद गर्न बाध्य पार्न नहुने निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा जारी परिपत्रमा विद्यालयहरूलाई राष्ट्रिय पाठ्यक्रम परिषद् तथा पाठ्यपुस्तक विकास केन्द्रद्वारा प्रमाणित पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिइएको छ। साथै, आगामी शैक्षिक सत्र २०८२ का लागि लागू हुने पाठ्यपुस्तकहरूको नामावली ७ दिनभित्र बुझाउन आदेश दिइएको छ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले विद्यालयहरूले अभिभावक र विद्यार्थीहरूलाई पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक विद्यालयबाटै खरिद गर्न बाध्य पारिरहेको गुनासो गरेको थियो। यसै आधारमा, यदि विद्यालयहरूले यस्तो गतिविधि गरेको पाइए कानुन बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ।





