एसपी रिपोर्टर
काठमाणडौं, फागुन २५ :
जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने स्पष्ट पारेको छ। पार्टीले वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था सुधार गर्न नेतृत्वलाई आग्रह गरेको छ।

राष्ट्रिय सभामा आइतबार बोल्दै जसपाका सांसद मोहम्मद खालिदले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ? प्रतिगमन चाहियो?’ भन्दै गणतन्त्रविरुद्धको चाहना पूरा हुन नसक्ने बताए। साथै, सरकारले संविधान विरोधी गतिविधिहरूलाई वेवास्ता गर्न नहुने उनको भनाइ छ।उनले सरकारलाई आफ्ना दायित्व पूरा गर्न आग्रह गर्दै भने, ‘सरकारको केही कमजोरीको फाइदा उठाउँदै कसैले गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्छ भने, त्यसप्रति सरकार गम्भीर हुनुपर्छ।’

सांसद खालिदले राजनीतिक दलहरूलाई राजावादी गतिविधिबारे स्पष्ट धारणा बनाउन आग्रह गरे। यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका सांसदहरूले पनि संसद्मा राजावादी गतिविधिबारे प्रश्न उठाएका छन्।