एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास, खुमलटारमा बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे तय गरिएको थियो, तर शीर्ष नेताहरू काठमाडौँ आउनेक्रम जारी रहेकाले बैठक सारिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
यसअघि, पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गर्दै शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन्। अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौँ आइपुगेका छन् भने उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू पनि राजधानी फर्किने क्रममा छन्।प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र रक्षाका लागि आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएका छन्। शनिबार रौतहटमा बसेको माओवादी केन्द्रका शीर्ष नेताहरूको अनौपचारिक बैठकले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो।
सचिव पौडेलले राजावादीहरूको सक्रियताले माओवादी केन्द्रलाई कुनै असर नपर्ने बताएका छन्। उनका अनुसार संसद्मा प्रभावकारी भूमिका खेल्नका लागि अभियान स्थगित गरिएको हो। आगामी योजनाबारे छलफल गर्न सोमबार बिहान पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।


