एसपी रिपोर्टर
काठमाणडौँ , फागुन १९ : सर्वोच्च अदालतमा आज नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा सुनुवाइ हुँदैछ। यो मुद्दा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।
गएको असार ५ गते झा नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कञ्चनपुरबाट पक्राउ परेका थिए। प्रहरी अनुसन्धानका अनुसार झाले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने समूहबाट दुई करोड रुपैयाँको चेक बुझेका थिए। उक्त चेक उनले टोखा नगरपालिका–६, धापासी निवासी रामशरण केसीबाट लिएको खुलासा भएको छ।यस प्रकरणका योजनाकारमध्येका सानु भण्डारीले आफ्नै नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक रामशरण केसीमार्फत झालाई दिएको बयानमा खुलेको छ। झाको उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध रहेको अड्कल गरिएको छ। उनी कांग्रेसका शीर्ष नेता र मधेशकेन्द्रित दलहरूसँग नजिक रहेको बताइन्छ।
अनुसन्धान अनुसार, मन्त्रिपरिषद्को निर्णयमार्फत झाले शरणार्थीलाई अमेरिका वा तेस्रो मुलुकमा पठाउने प्रक्रिया सहज बनाउने योजना थियो। तर, उनले चेक बुझे पनि कुनै निर्णय गराउन सकेनन्। त्यसपछि उनी शरणार्थी प्रकरणबाट हराएका जस्ता देखिए।


