एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। घरमै सुत्केरी हुने जोखिम कम गर्न र सुरक्षित प्रसूति सुनिश्चित गर्न यो सेवा सञ्चालनमा ल्याइएको हो।
नगरप्रमुख जितनारायण यादवका अनुसार नगरक्षेत्रका महिलाहरूलाई अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउन प्रोत्साहित गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ। साथै, सुत्केरीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न पनि यस सेवाले मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। नगरपालिकाले अन्य बिरामीहरूका लागि भने न्यून शुल्कमा एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ। गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकहरूको पहुँच वृद्धि गर्न यो सेवा प्रभावकारी हुने नगरपालिकाले जनाएको छ।


