एसपी रिपोर्टर
बारा फागुन १७ : बारा जिल्लाको बङ्गरी नदीमाथि भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको भलुही–भरवलिया–८ पक्की पुल सञ्चालनमा आएको छ। ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सार्वजनिक पूर्वाधार योजनामा बनेको यो पुल भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीना र सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे।
भारत सरकारले रु १ करोड ९६ लाख लागतमा निर्माण सम्पन्न गराएको पुलले भलुही–भरवलिया, फेटा र छिमेकी गाउँलाई वीरगञ्ज महानगरसँग सिधा जोड्नेछ। पुल सञ्चालनमा आएपछि स्थानीयको यातायात र आर्थिक गतिविधिमा सहजता आएको छ।
भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातलगायत विभिन्न क्षेत्रमा पाँच सयभन्दा बढी विकास परियोजना सञ्चालन गर्दै आएको छ।


