वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १४ :
जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरधाम उपमहानगरपालिका नगरभित्रका व्यवसायी प्रतिष्ठान रहेका सर्टरहरुको भाडा दर निर्धारण गर्न माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष मनिषरमण साहको अगुवाईमा व्यापारीहरूले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलाई ज्ञापन पत्र बुझाउँदै वैज्ञानिक ढंगले भाडा दर निर्धारण गर्न माग गरेको हो ।
जनकपुरधाममा व्यापार व्यवसाय चौतर्फी रुपमा मारमा परेको समयमा चर्को घरभाडा र घर धनीले एडभान्स लिने गरेकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष साहले जानकारी दिए ।
जनकपुरधामको सडक विस्तार गर्ने क्रममा व्यवसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुट हुँदा वर्षभरि नै व्यवसाय चौपट भएको’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैङ्क व्याज दरले असर परेकाले यस क्षेत्रका सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठुलै मारमा पारेको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
व्यावसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
