एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १२ :
श्रीराम जानकी विवाह महोत्सवको तयारीमा जनकपुरधाम उपमहानगरपालिका जुटेको छ ।
आउंदो मंसिर २६ गतेदेखि पुस २ गते मनाइने श्रीराम जानकी विवाह महोत्सको तयारी स्वरुप उपमहानगरपालिकाका मेयर मनोज साहको नेतृत्वमा जनकपुरधामस्थित बारहविघाको अवलोकन गरेका छन् ।
मेयर साह र वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णसहित उपमहानगरपालिकाका प्राविधिक टोलीले विवाह पञ्चमी महोत्सवमा सहभागी आउने साधुसन्त र श्रद्धालुहरुको लागि विश्रामस्थल, शौचालय र खानेपानी व्यवस्थापनका लागि बारहविघाको अवलोकन गरिएको जनाइएको छ । प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन तयारी स्वरुप आज अवलोकन गरिएको मेयर साहले बताएका छन् ।
यसअघि जानकी मन्दिरमा सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमासर्वपक्षीय बैठक सम्पन्न भएको थियो । विवाह पञ्चमी महोत्सवका लागि लागि १ सय ५१ स्दस्यीय मूल समिति र स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सजावट, दीपावली उत्सवको व्यवस्थापनका लागि उपसमितिहरु पनि गठन गरिसकिएको छ । गत वर्षमा प्रदेश सरकारले महोत्सवका लागि रु २० लाख रुपैयाँ विनियोजन गरेको थियो तर यस वर्ष प्रदेश सरकारले महोत्सवका लागि रकम विनियोजन गरेका छैन ।
सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव , ३० गते मटकोर, पुस १ गते स्वयमवर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको छ । यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रमसमेत तय भएको छ ।
