एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ :
जनकपुरधाममा ग्यास व्यवसायी संघ धनुषाको कार्यालयको भवन निर्माण कार्य सुरु गरिएको छ । भवनको शिलान्यास जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साह र ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले संयुक्त रूपमा गरेका हुन् ।
नगरप्रमुख साहले ग्यास दैनिक उपभोग्य वस्तु भएकाले यससँग सम्बन्धित संस्थाको कार्यालय स्थापना हुनु उपमहानगर र जनकपुरवासीहरूका लागि सुखद विषय भएको बताए । साथै, उनले यो भवन निर्माणपछि सेवा प्रवाहमा थप सहजता आउने विश्वास पनि व्यक्त गरे ।

ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष पण्डितले झन्डै ४५ लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त भवन ग्यास व्यवसायी तथा उपभोक्ताहरूको हकहितमा प्रयोग गरिने जानकारी दिए । उनले भवनमा मिटिङ हलसहित आवश्यक कार्यालय कोठाहरू निर्माण गरिने पनि स्पष्ट पारे ।

जनकपुरधाममा ग्यास व्यवसायीको संगठनात्मक संरचना मजबुत बनाउन र सेवाहरू व्यवस्थित ढंगले उपलब्ध गराउन यो भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।






