एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २७ :

टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले जनकपुरधाममा तीन नयाँ गाडी लन्च गरेको छ। जनकपुरधामस्थित गिरिजा अटोमोबाइल्समा आयोजित कार्यक्रममा नेपालमा हालै लन्च गरिएका बहुप्रतीक्षित गाडीहरू— कर्भ ईभी, नेक्सन के ३ र टाटा सफारी सार्वजनिक गरियो।



लन्च कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती ले जनकपुरधाममा टाटाका नयाँ गाडी लन्च गर्न पाउँदा उत्साहित भएको बताए। उनले ग्राहकहरूले टाटा इभीहरू २७ लाखदेखि ५६ लाख रुपैयाँसम्मको मूल्य दायरा भित्र रोज्न सक्ने जानकारी दिए। इन्ट्री-लेभल इभी चाहने ग्राहकका लागि टियागो ईभी, बजेटमै एसयूभीको आनन्द खोज्नेहरूका लागि पञ्च ईभी, र टाढा यात्रा गर्ने ग्राहकहरूका लागि नेक्सन के ३ ईभी उपयुक्त हुने उनले बताए।

उनले कर्भ ईभीको टप भेरिएन्ट लामो दूरीका यात्राका लागि उत्कृष्ट विकल्प रहेको उल्लेख गर्दै, भारतका पटना, दरभंगा जस्ता गन्तव्यहरू सहजै यात्रा गर्न सकिने बताए। साथै, भारतभरि रहेका टाटा मोटर्सका चार्जिङ सुविधाहरूको लाभ नेपालका ग्राहकहरूले पनि उठाउन सक्ने जानकारी गराए।


गिरिजा अटोमोबाइल्सका सञ्चालक गुड्डु जैन ले जनकपुरधाममा उच्च रेन्ज भएका इलेक्ट्रिक गाडीहरूको माग रहेको बताउँदै, कर्भ ईभी र नेक्सन के ३ ईभीले सो आवश्यकता पूरा गर्ने बताए।

कार्यक्रममा टाटा मोटर्स नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान तथा मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी प्रमुख अतिथि रहेका थिए। सिप्रदी ट्रेडिङ्गले टाटाका नयाँ गाडीहरूको रिजनल लन्च अब बीरगञ्जमा गर्ने योजना बनाएको छ।