एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २२ :

क्षीरेश्वरनाथ नगरपालिका-१, रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ। करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो वाटरपार्क मधेश प्रदेशकै सबैभन्दा उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

वाटरपार्कमा मल्टिलेनसाइड टू लेन, बडी वेभ स्लाइड, हाईस्पीड बडी स्लाइड, ओपन बडी टर्निंग स्लाइड, ओपन फ्लोट स्लाइड, वेभ पुल, रेन डान्स, फाइभ प्लैटफर्म वाटर प्लेसिस्टम, टट्स एक्टिभिटी, सिक्स डिफरेन्ट सावर लगायतका आकर्षणहरू रहेका छन्। साथै, फूड कोर्ट, पार्टी हल जस्ता सुविधाहरू समेत उपलब्ध छन्।

वाटरपार्कको उद्घाटन भोलि शुक्रबार बिहान ११ बजे नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा हुने जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि. का प्रबन्ध निर्देशक गुड्डु जैन ले दिएका छन्। उद्घाटनअघि आज पत्रकार सम्मेलन गरी पार्कको अवस्था सम्बन्धमा जानकारी गराइएको छ।

यो वाटरपार्क धनुषा, महोत्तरी, सिरहा सहित मधेश प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती क्षेत्रका पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। पार्क बिहान १०:३० बजे खुल्ने र बेलुका ५ बजेसम्म सञ्चालनमा रहने छ।

वाटरपार्क निर्माणमा हालसम्म १२ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोग रहेको छ। पार्क प्रवेश शुल्क ९५० रुपैयाँ (ट्याक्ससहित प्रति व्यक्ति) निर्धारण गरिएको छ।

पानीको स्वच्छता कायम राख्न ४ वटा वाटर ट्रीटमेन्ट सिस्टम जडान गरिएको जानकारी निर्देशक अभिशेष गोयनका ले दिएका छन्। साथै, आगन्तुकहरूलाई न्यूनतम शुल्कमा कस्टुम उपलब्ध गराइनेछ। वाटरपार्क परिसरमा रेस्टुरेन्ट कम्प्लेक्स, रिसोर्ट, बैंक्वेट हल तथा बालबालिकाका लागि प्ले जोन निर्माण कार्य पनि भइरहेको छ।