एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री संजयकुमार यादवले विगतको मधेश सरकार कामभन्दा बढी अनुदानमा केन्द्रित भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा जनकपुरधाममा भएको कार्यक्रममा राज्यमन्त्री यादवले विगतको सरकारले ठोस काम गर्न नसकेको भन्दै मात्र अनुदान दिनमै व्यस्त भएको आरोप लगाउनुभएको हो ।
उहाँले मधेश प्रदेशलाई किसान मैत्री प्रदेश भनिए पनि किसानका लागि अघिल्लो सरकारले केही नगरेको पनि आरोप लगाउनुभयो । विभिन्न संगठनलाई कागजकै भरमा अनुदान दिएर बजेटको दुरुपयोग गरेको उहाँको भनाइ छ ।
राज्यमन्त्री यादवले सहकारी क्षेत्रको उत्थानमा स्थानीय तहले केही नगरेको पनि आरोप लगाउनुभयो । सहकारी आर्थिक गतिविधिमा मात्र केन्द्रित भएको भन्दै सहकारीहरू आफ्नो उद्देश्यअनुसार बृहत काम गर्न नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा मधेशका पूर्वमन्त्री रामसरोज यादवले किसानहरूले एकीकृत रूपमा खेती गर्नुपर्ने बताउनुभयो । उहाँले एकीकृत रूपमा खेती हुन नसक्दा अपेक्षाकृत लाभ हुन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा जनकपुरधाम उपमहागनरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साहका साथै सहकारी अभियानी धु्रव नारायण यादव, आयोजक संस्थाहरू धनुषा जिल्ला सहकारी संघ, बचत तथा ऋण संघ, विषयगत सहकारी संघ संस्थाका प्रतिनिधि लगायत सहभागी भएका थिए ।