एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : जनकपुरधामको फोहोर व्यवस्थापन सबै क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारबालाहरूले बताएका छन् । जनकपुरधाममा बुधबार भएको सार्वजनिक निजी संवाद मञ्च बैठकमा सहभागीहरूले कुनै एउटै निकायको जिम्मेवारी फोहोर व्यवस्थापन नभएको भन्दै यसमा आम सर्वसाधारणका साथै अन्य सरोकारबाला सबै निकायको सहयोग आवश्यक रहेको बताएका हुन् ।
उनीहरूले बैठकमा सहभागी मेयर मनोजकुमार साहले जनकपुरधामको फोहोर व्यवस्थापनका लागि आफू तीव्र गतिमा कामहरू अगाडि बढाएको भन्दै यसमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । मेयर साहले पब्लिक–प्राइभेट मोडेलमा फोहोर व्यवस्थापन लगायत अन्य कामहरू पनि गर्न सकिने बताउनुभयो ।
त्यस्तै, अन्य सहभागीहरूले पनि जनकपुरधामको फोहोर व्यवस्थापनमा देखिएको चुनौती र यो समस्या समाधानका विभिन्न उपायहरूको विषयमा चर्चा गरेका थिए । उनीहरूले पब्लिक–प्राइभेट सेक्टर मिलेर अन्य अरु क्षेत्रमा काम गर्न सकिने बताएका थिए ।
बैठकमा सार्वजनिक निजी साझेदारी अनुरुपको सम्भावित परियोजनाका विषयमा पनि छलफल भएको थियो । समृद्धी परियोजना, जनकपुरधाम उपमहानगर र जनकपुरधाम उद्योग वाणिज्ज संघबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत यो कार्यक्रम गरिएको हो । कार्यक्रममा फोहोर व्यवस्थानका प्राविधिक तथा जानकारहरूलगायतको सहभागिता थियो ।