जनकपुरधाम, साउन ३० : सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कमला नदीमा डुँगाको भरमा यात्रा गर्ने यात्री र चालकको लागि लाईफ ज्याकेट उपलब्ध गराएका छन् ।
जिल्ला विपद व्यवस्थापन समिति सिरहा तथा सिरहा नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले सिरहा र धनुषा जिल्लाको बीचमा पर्ने कमला नदीमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्थामा उनीहरुको लागि लाईफ ज्याकेट उपलब्ध गराएको हो ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा सिडिओ कणेलले जिल्लाभरिको सुरक्षा निकायहरुको प्रतिनीधिको रोहबरमा नदीमा डुँगा चलाउने चालक र यात्रा गर्ने यात्रुहरुको लागि ४२ थान लाईफ ज्याकेट प्रदान गरिएको बताए ।
सिरहा नगरपालिकाको सहयोगमा सो लाईफ ज्याकेट उपलब्ध गराएको उनले थपे । सो क्रममा उनले क्षमता भन्दा बढी यात्रु डुँगा (नाउ) मा ओसार पोसार नगर्न निर्देशन समेत दिएको बताए ।
विभिन्न समयमा कमला नदी पार गर्ने एक मात्र विकल्पको रुपमा रहेको डुँगामा अत्यधिक यात्रु सवारका कारण मानवीय क्षति हुँदै आएको छ । लाईफ ज्याकेट लगाएर यात्रा गरेपछि यात्रु सुरक्षित रहने विश्वास व्यक्त गरे ।
सो क्रममा सशस्त्र प्रहरीका एक जवानले लाईफ ज्याकेट लगाउने तरिका, डुँगा दुर्घटना हुँदा बच्ने उपाय, तैरिने उपायहरुबारे डेमो (उदाहरण) समेत प्रदर्शन गरी देखाएका थिए ।
साभार : इन्युजब्यूरो