एसपी रिपोर्टर
काठमाण्डौं, साउन २८ : ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो । अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो । उनी दम तथा मुटु रोगी थिए । आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो । किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
धरानमा पनि एकको मृत्यु
उता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मोरङ स्थायी घर भएका पुरूषको बुधबार राति १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । ‘रूघाखोकी, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको सिकिस्त बिरामी २६ गते भर्ना हुनुभएको थियो,’ प्रवक्ता सापकोटाले भने, ‘लक्षण बुझ्दा कोरोना शंका लागेपछि स्वाब लिएर छुट्टै उपचार गरेका थियौं ।’
मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले बताएको छ । योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनका अनुसार अस्पतालमा १ सय १ जना बिरामी उपचाररत् छन् ।