एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
एकल महिलाको मानसिक स्वास्थ्य प्रवर्द्धन तथा दैनिक जीवनमा उत्पन्न हुने तनाव व्यवस्थापनका व्यावहारिक सीप विकास गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने तनाव व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ।
मानव अधिकारका लागि एकल महिला समूहले आयोजना गरेको उक्त तालिममा धनुषाका विभिन्न स्थानीय तहबाट आएका एकल महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रमले मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै तनाव व्यवस्थापनका प्रभावकारी उपायबारे जानकारी गराएको आयोजकले जनाएको छ।
तालिममा मनोचिकित्सक विकास शर्माले मानसिक तनावका प्रमुख कारण, लक्षण तथा समाधानका उपायबारे प्रशिक्षण दिएका थिए। उनले सकारात्मक सोचको विकास, नियमित शारीरिक व्यायाम, ध्यान र श्वास प्रश्वास अभ्यास, समयको प्रभावकारी व्यवस्थापन तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउने बानीले मानसिक स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य रुपा यादवले एकल महिलाले पारिवारिक, सामाजिक र आर्थिक कारणले अन्यभन्दा बढी मानसिक दबाब झेल्नुपर्ने अवस्था रहेको बताइन्। समाजमा विद्यमान विभेदपूर्ण व्यवहार र असमान अवसरले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यस विषयलाई राज्य, समाज र सरोकारवाला निकायले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
तालिममा सहभागी महिलाहरूले पारिवारिक जिम्मेवारी, आर्थिक कठिनाइ, सामाजिक विभेद तथा एक्लोपनका कारण मानसिक तनाव भोग्नुपरेको अनुभव साझा गरेका थिए। उनीहरूले यस्ता तालिमले आत्मविश्वास अभिवृद्धि गर्न, मानसिक रूपमा सबल बन्न तथा तनाव व्यवस्थापनका व्यवहारिक उपाय सिक्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिए।
मानव अधिकारका लागि एकल महिला धनुषाकी अध्यक्ष शुभद्रा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुरेश झा, वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साह तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।