एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
व्याहुत सुडी सेवा समिति जनकपुरधामको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोह सम्पन्न भएको छ।
समारोहमा निर्वाचन समितिका संयोजक डा. भोला साहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
समितिको अध्यक्षमा निर्वाचित उमाशंकर प्रसाद साहसँगै उपाध्यक्ष कुशेश्वर प्रसाद साह, महासचिव लक्ष्मण प्रसाद साह, सचिव गौरीशंकर साह तथा कोषाध्यक्ष ऋषिकेश साहले शपथ लिएका थिए। त्यसैगरी सदस्यहरू रामआशिष साह, बलीराम साह, कुमोद प्रसाद साह, विष्णुकुमार साह, उर्मिलादेवी साह र सुनितादेवी साहले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
शपथग्रहण समारोहपछि निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद साहले नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहलाई समितिको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। नेतृत्व हस्तान्तरणसँगै नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुरूप समाजको हित, एकता तथा सेवामूलक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको थियो।
कार्यक्रममा समाजका अग्रज, बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्याहुत सुडी समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै समुदायको हित, शिक्षा, सामाजिक एकता तथा सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए।
नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहले समुदायको विश्वास र सहयोगलाई साथ लिएर समितिलाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायको एकता, सामाजिक उत्थान तथा नयाँ पुस्तालाई संस्थासँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै सबैको सहकार्यबाट संस्थालाई थप सशक्त बनाइने विश्वास व्यक्त गरे।