एसपी रिपोर्टर

जनकपुरधाम, असार ९ : रास्वपाका मनिष झा, झट्ट सुन्दा यो नाम मधेशका एकजना पात्र जस्तो बुझिन्छ, तर मनिष हाल नेपाली राजनीतिमा सामूहिक नाम बन्न सफल भएका छन्; आफ्ना भूगोल मधेशमा मात्र होइन पहाडमा पनि उनका एकदमै प्रशंसकहरू छन्। कारण उनको राजनीतिक तर्क, शैली र आकर्षक बोली हो। मनिष पार्टीभित्र मात्र होइन पार्टी बाहिर पनि सामूहिक परिचित नाम बनिसकेका छन्।

हाल रास्वपाका केन्द्रीय प्रवक्ता रहेका मनिष जारी पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा महामन्त्री पदका लागि कडा अडान राखेपछि पुनः चर्चामा आएका छन्। धनुषा ३ बाट प्रत्यक्ष निर्वाचित भएपछि, चर्चाका बिच पनि मन्त्रिपरिषद्मा नअटाएपछि, संसदीय समितिका सभापति अस्वीकार गरेपछि र हाल केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा आफ्नो स्वाभाविक दाबी रहेको भन्दै कुनै पनि हालतमा पछि नहट्ने बताएपछि, उनी निरन्तर राजनीतिक वृत्तमा चर्चामा छन्।

मधेशको चेहरा मनिषलाई पार्टीले केन्द्रीय प्रवक्ता बनाएपछि उनी राष्ट्रिय चेहरा बन्न सफल भए। मिडियामा प्रस्तुत हुने पार्टीको आधिकारिक नेताको जिम्मेवारी पनि पाएकाले पार्टीका युवामा परिचित उनलाई भुईँ कार्यकर्ताले पनि राम्ररी चिने।

महामन्त्री पदमा उनले आकांक्षा जाहेर गरेपछि उनको शुभेच्छामा मधेश मात्र होइन पहाड र हिमालका कार्यकर्ताहरूको पनि सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्।

विभिन्न मिडियाहरूले गरिरहेको सर्वेक्षण पोलमा महामन्त्री पदका लागि अहिलेका लागि मनिष नै उत्तम पात्र र सामूहिक हुने प्रतिक्रियाहरू आइरहेको देखिन्छ।

२०७९ सालमा रास्वपाको सदस्यता लिएका लोकतान्त्रिक विचारधाराका मनिष पार्टीको सहप्रवक्ता, अभियान तथा प्रचारप्रसार विभाग प्रमुख र समानुपातिक सांसदको जिम्मेवारी पनि प्रखरतापूर्वक निर्वाह गरिसकेका छन्।

पार्टी र पार्टी सभापति संकटमा रहेका बेला अलिकति पनि विचलित नभई पार्टी र सभापतिकै पक्षमा अडिग भएर उभिएका मनिषको दावेदारीले निर्वाचनको वातावरण बनेको खण्डमा सम्पूर्ण पार्टी पंक्तिका लागि पनि त्यो निर्वाचन अग्निपरीक्षा हुनेछ।

मधेश प्रदेशमा अपार जनमत पाएको रास्वपामा महामन्त्रीका लागि निर्वाचन भएको खण्डमा मधेशको प्रतिनिधित्व मनिषले भोलि पाउने मतको समीक्षा मधेशमा अवश्य पनि हुनेछ भन्ने कुराको आभास पार्टी नेतृत्वलाई छ।