एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले समाजमा विभाजन होइन, एकता, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने पत्रकारिताको आवश्यकता औंल्याएका छन्।
मधेश मिडिया काउन्सिलद्वारा आयोजित ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैली’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकारिताको मूल उद्देश्य सही, सत्य र निष्पक्ष सूचना प्रवाह गर्नुका साथै समाजमा सद्भाव कायम गर्नु रहेको बताए।
उनले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै संवेदनशील विषयवस्तु प्रस्तुत गर्दा सञ्चारकर्मीले थप जिम्मेवारी, व्यावसायिकता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
मन्त्री महतोले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भएकाले यसको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरे।
मधेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहलगायत विभिन्न सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा पत्रकारिताको आचारसंहिता, भाषा प्रयोग, समाचार लेखन शैली तथा व्यावसायिक पत्रकारिताका मापदण्डबारे छलफल गरिएको आयोजकले जनाएको छ।





