एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ :
जनकपुरधाम उपमहानगरपालिका ५ को आयोजनामा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
वडा नं. ५ का अध्यक्ष बेचन साहु हलुवाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल आभूषण महासंघ मधेश प्रदेशका अध्यक्ष पवन ठाकुर प्रमुख अतिथि तथा जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य राकेश विक्रम साह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सञ्चारकर्मी, खेलप्रेमी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि ठाकुरले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताए। उनले स्थानीय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न तथा प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
विशिष्ट अतिथि साहले वडा स्तरमै क्रिकेट प्रतियोगिता आयोजना हुनु सकारात्मक पहल भएको बताउँदै यसले युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारले खेलकुद पूर्वाधार विकास तथा खेल गतिविधिको विस्तारमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष बेचन साहु हलुवाईले वडा नं. ५ लाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले प्रतियोगिताले स्थानीय युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन तथा खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र बृहत् रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए।
प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ५, ८, १२, १४, १७ र २३ का टोलीहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले रु. २५ हजार तथा उपविजेता टोलीले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। आइतबार सम्पन्न उद्घाटन खेलमा वडा नं. १२ ले वडा नं. ५ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।





