एसपी रिपोर्टर

जनकपुरधाम, असार ९: सैनिक–नागरिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिने विभिन्न कार्यक्रम अन्तर्गत मधेश प्रदेशको जनकपुरधामस्थित मानव सेवा आश्रममा आश्रित असहाय व्यक्तिहरूलाई नेपाली सेनाले भोजन तथा राहत सामग्री वितरण गरेको छ ।

श्री कालि सिद्ध दल गण-ईको आन्तरिक स्रोत–साधनबाट मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई एक छाक भोजन गराउने तथा आवश्यक राशन सामग्री सहयोग गर्ने कार्यक्रमअनुसार मिति २०८३ असार ८ गते उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यस अवसरमा श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी श्री भुवन खत्रीज्यूको उपस्थितिमा कालि सिद्ध दल गण-ईका गणपति प्रमुख सेनानी सुमित श्रेष्ठज्यूको कमाण्डमा गएको टोलीले धनुषा जिल्लाको जनकपुरधामस्थित मानव सेवा आश्रममा बसोबास गरिरहेका ६३ जना आश्रित तथा १५ जना सहयोगी गरी जम्मा ७८ जनालाई भोजन गराउनुका साथै आवश्यक राशन सामग्रीहरू वितरण गरेको थियो ।

कार्यक्रमका क्रममा नेपाली सेनाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवामा समर्पित संस्थालाई सहयोग प्रदान गरेको तथा यस्ता गतिविधिले सैनिक–नागरिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै समाजमा सहयोग, सद्भाव र मानवीय सेवाको भावनालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको थियो । मानव सेवा आश्रमका पदाधिकारीहरूले नेपाली सेनाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले आश्रममा आश्रित व्यक्तिहरूलाई ठूलो राहत पुगेको बताएका थिए ।