एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको शैक्षिक गुणस्तर खस्किदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । शिक्षा तथा संस्कृति मन्त्रालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रम आयोजना गरेको अवसरमा उनले शिक्षाको गुणस्तर ह्रासप्रति दुःख व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले भने, “पहिले स्वास्थ, विज्ञान, गणित वा अंग्रेजी पढाउने शिक्षक मधेसकै हुन्थे, तर पछिल्ला दुई दशकमा शिक्षा स्तर धरमराइसकेको छ ।” उनले आगामी दिनमा शिक्षा सुधारलाई प्राथमिकता दिने पनि जानकारी दिए ।

शिक्षा मन्त्री रानी शर्मा तिवारीले मधेसमा शिक्षक र विद्यार्थीको अनुपात नमिलेको कारण शैक्षिक स्तर खस्किरहेको बताइन् । मन्त्री तिवारीका अनुसार विद्यार्थी संख्या बढ्दा पनि शिक्षकको अभावले सुधार आउन सकेको छैन ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत देवी सहाय मिनाले शिक्षा नै प्राज्ञिक विकासको मूल जरा भएको भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
यस अवसरमा धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका १ सय ४६ छात्र–छात्राहरुलाई उत्कृष्ट नतिजा हासिल गरेकोमा साइकल वितरण गरिएको थियो । कार्यक्रमको समन्वय महावाणिज्य दूतावास वीरगंजले गरेको थियो भने नेपाल एसबीआई बैंकले सहयोग गरेको थियो ।





