एसपी रिपोर्टर
काठमाणडौँ, साउन ३१ : पर्साको वीरगञ्जमा पहिलोपटक कालाजारको विरामी फेला परेको जनाइएको छ ।
वीरगञ्ज महानगरपालिका–२७ स्थित उदयपुरघुर्मीका ४० वर्षीय पुरुषमा कालाजारको संक्रमण पुष्टि भएको छ । ती पुरुष चालु आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको पहिलो बिरामी भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । उनले गत आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको एक जनामा मात्रै संक्रमण भेटिएको थियो ।अहिले कालाजारको संक्रमण पुष्टि भएका वीरगञ्ज–२७ का ४० वर्षीय पुरुष रोजगारीका सिलसिलामा दुई महिना पहिले भारतको गुजरात गएका थिए । त्यहाँ उनलाई साँझको समयमा पटकपटक ज्वरो आउने लगायतका लक्षण देखा परेपछि उनी घर फर्किए ।साउन ८ गते स्वास्थ्य उपचारका लागि वीरगञ्ज–१५ स्थित तराई हस्पिटलमा स्वास्थ्य परीक्षणका क्रममा कालाजारको संक्रमण रहेको पुष्टि भएको थियो । त्यसपछि स्वास्थ्य कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोली तराई हस्पिटलमा पुगेर पुनः परीक्षण गर्दा पनि कालाजारको संक्रमण भएको फेला परेको थियो ।आर्थिक अवस्था कमजोर रहेका ती पुरुषको उपचारमा आवश्यक सुई र औषधि प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट झिकाएर उपचार गरिएको उनले बताए । हाल घरबाटै उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । चालु आर्थिक वर्षको पहिलो महिनामै जिल्लामा कालाजारको संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर कालाजार, मलेरिया, डेंगी लगायतका कीट जन्य रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।कालाजार रोगका मुख्य लक्षणहरू पटक पटक ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु इत्यादि हुन् । कालाजारको संक्रमण भएपछि समयमै उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ ।
हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि नभएको चिकित्सकहरू बताउँछन् ।





