एसपी रिपोर्टर
सर्लाही , साउन ३० : सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टा-छुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
एक जनाको अवस्था गम्भीर छ ।चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री पडरियाका ६० वर्षीय बरन बैठाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट अर्का पैदलयात्री सोही ठाउँका २० वर्षीय दीपक मण्डल घाइते छन् ।मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चक्रघट्टा गाउँपालिका–१, का २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि नियन्त्रणमा लिइएको छ । यस्तै, ईश्वरपुर नगरपालिका–१, चौलिखामा एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





