एसपी रिपोर्टर
काठमाणडौं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आरोप लगाएकी हुन् ।उनले भनेकी छन्, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायलयमा उहाँ (गृहमन्त्री रमेश लेखक)को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश शुशिला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’गृहमन्त्रीको सचिवालयमा उजुरी तयार पार्ने काम भएको उनको आरोप छ ।‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्युको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएका छन्’, सांसद कार्कीले भनिन् ।उजुरीको कपि गृहमन्त्रीकै सचिवालयबाट जुन दिन पेसी चढेको छ उही दिन न्याय परिषद्मा परेको र यो योजनाबद्ध रहेको उनको आरोप छ । ‘… यसरी योजनावद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी हुन्छ ?’ डा.कार्कीको प्रश्न छ, ‘कानुन जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ ?’केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने उनले आग्रह गरिन् ।





