एसपि रिपोर्टर
जनकपुर , असार १५
: जनकपुरधाम उपमहानगरपालिकाले २५ वटै वडामा धान रोपाइ कार्यक्रम सञ्चालन गर्दै २२औँ राष्ट्रिय धान दिवस उल्लासपूर्ण रूपमा मनाएको छ।

आनन्द नेपाल संस्थाको सहकार्यमा जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम नगरप्रमुख मनोजकुमार साहको नेतृत्वमा सम्पन्न भयो। कार्यक्रममा मधेस प्रदेशसभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा चित्रण गर्दै स्थानीय तह धान उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ क्रियाशील रहेको बताए।‘धानमा हाम्रो परनिर्भरता हटाउन खेती विस्तार र उत्पादकत्व वृद्धिमा ध्यान दिनु जरुरी छ,’ उनले भने ।साहले कमला सिँचाइ आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गरे। सिँचाइ अभावका कारण धान उत्पादनमा असर परेको बताउँदै उनले मल आपूर्ति पनि समयमा सुनिश्चित गर्न संघ सरकारसँग अनुरोध गरे।धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ।