एसपि रिपोर्टर
बारा , बैशाख २९ : खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।

सोमबार बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरीका खानेपानीका समस्या समाधानका लागि आफू सहित सिङ्गो मन्त्रालयको टिमले काम गरिरहेको बताए ।‘हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ,’ उनले भने ।यसैगरी आफूले मन्त्रालय सम्हालेपछि देशका विभिन्न स्थानमा रोकिएका एवं अधुरा रहेका खानेपानी आयोजनाहरू सञ्चालनमा आएको उनको भनाइ थियो । पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागिपरेको मन्त्री यादवले उल्लेख गरे ।‘हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेस सहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पुर्‍याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ,’ मन्त्री यादवले भने ।नागरिकले अनुभूति गर्न सक्ने खानेपानी सेवामा सुधार ल्याउनेतर्फ सरकार प्रतिबद्ध रहेको समेत मन्त्री यादवले बताए । कलैया उपमहानगरपालिका अन्तर्गतका वडा नं १५, २६ र २७ मा सञ्चालन हुने यो आयोजना यहाँका नागरिकहरूको खानेपानीका क्षेत्रमा दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको समेत उनको भनाइ थियो ।तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको र विशेषगरी तराई–मधेशका बारा, पर्सा, रौतहट गायतका अन्य जिल्लाहरुमा पनि पछिल्लो समय खानेपानीको गम्भीर समस्या देखिएकाले ती क्षेत्रमा खानेपानीका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिन थालिएको उनले बताए ।

शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।