एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १८ : सशस्त्र प्रहरी बलले सुनसरीमा ७८३ किलोग्राम गाँजासहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त टोलीले उक्त ट्रक तथा चालक र सहचालकलाई धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा नियन्त्रणमा लिएको हो।भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रकलाई शंका लागि चेकजाँच गर्दा ७८३ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। चेकजाँचको क्रममा ट्रकमा ‘ना ७ ख २८१’ नम्बर प्लेट पनि भेटिएको थियो।ट्रकको ड्राइभर सिटमाथि बनाइएको बाकसभित्र २२ वटा पोका बनाई लुकाएर ल्याइँदै गरेको गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार ट्रक चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटा जिल्लाको सिदुवा नगरपालिका–६ का १८ वर्षीय आकाश राईलाई पनि पक्राउ गरिएको छ।पक्राउ परेका दुबै जनालाई ट्रक र गाँजासहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन वेश धनकुटाले ४२१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो।





