एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलको आरोप लागेका राष्ट्रिय परीक्षा बोर्ड, लहानका प्रमुख धनपति भेटवाल र शाखा अधिकृत चन्द्रदेव यादवलाई केन्द्र तानिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले सोमबार उनीहरूलाई तत्काल प्रभावमा फिर्ता बोलाएको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा केन्द्र निर्धारणमा अवैध रकम असुली गरिएको विषयमा समाचार सार्वजनिक भएपछि उनीहरूलाई केन्द्र झिकाइएको हो।“समाचारपछि मैले तत्काल बुझेर दुवैलाई फिर्ता बोलाएको छु,” अध्यक्ष शर्माले भने, “उनीहरूविरुद्ध विस्तृत छानबिन भइरहेको छ। दोषी प्रमाणित भए कानुनी कारबाही हुन्छ।”बोर्डले लहानस्थित कार्यालयमा भेटवालको स्थानमा संजय पाण्डेलाई नयाँ प्रमुखका रूपमा पठाएको छ। शर्माका अनुसार मंगलबारदेखि पाण्डेले नयाँ जिम्मेवारी सम्हालेका छन्।

लहानस्थित बोर्डको क्षेत्राधिकारभित्र पर्ने सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लाका विद्यालयहरूसँग ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुली गरी मनपरी परीक्षा केन्द्र तोकिएको खुलासा भएको थियो।