एसपी रिपोर्टर
काठमाणडौँ , चैत ८ : नेपालभित्रको विद्युत् प्रसारण सुदृढीकरण तथा नेपाल–भारत विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत ढल्केबर–बारा खण्डको निर्माण सम्पन्न भएको छ।
यस आयोजनामा धनुषाको ढल्केबरदेखि बारा, मकवानपुरको सरस्वती डाँडासम्म १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। यसअघि, ढल्केबरबाट पूर्वतर्फ सुनसरीको इनरुवा सबस्टेसम्म १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भई सञ्चालनमा आइसकेको छ।ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर क्षेत्रसम्मको ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ को उपस्थितिमा सो प्रसारण लाइन चार्ज गरिएको हो।घिसिङका अनुसार, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरी हिउँदमा ऊर्जा आपूर्ति सहज बनाउन र वर्षायाममा अतिरिक्त विद्युत् भारत निर्यात गर्न यो प्रसारण लाइन महत्त्वपूर्ण हुने छ।यसैगरी, हेटौँडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति कार्य जारी छ। हाल १३२ केभी प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् प्रवाह भइरहेकामा, कन्डक्टर बदलेपछि यसको क्षमता ४०० मेगावाट पुग्नेछ।तर, हेटौँडा हटिया क्षेत्रमा १६ वटा टावर निर्माण रोकिएको छ। स्थानीय अवरोधका कारण आठ वर्षदेखि हेटौँडा–ढल्केबर खण्डको निर्माण सम्पन्न हुन सकेको छैन।
नेपाल सरकार, विद्युत् प्राधिकरण तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सञ्चालित नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना अन्तर्गत यो आयोजना सम्पन्न हुन लागिएको हो। ऋण अवधि सकिएपछि बाँकी काम नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ।