एसपी रिपोर्टर
काठमाणडौँ ,फाल्गुन २९ : विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने तय भएको छ। मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्नेछ।
श्रेष्ठले जानकारी दिएअनुसार, बैठक चैत १५ गते काठमाडौँमा आयोजना हुन लागेको विरोध सभाको तयारीका लागि बोलाइएको हो। यसअघि चैत ९ गते जनकपुरमा गर्न भनिएको विरोध सभा स्थगित गरिएको छ। श्रेष्ठले भने, “विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले चैत ९ गते जनकपुरमा राखिएको विरोध सभा स्थगित गरिएको हो।”मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया आयोजना गर्नेछ भने दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ।फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकालेको थियो। नेताहरूका अनुसार प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोध सभा आयोजना गरिएको हो।
फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठूलो संख्यामा मानिसहरू जम्मा भएपछि मोर्चाले त्यसलाई व्यवस्थामाथिको चुनौतीको रूपमा विश्लेषण गरेको छ।





