एसपी रिपोर्टर
जनकपुरधाम फागुन १७ : धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा शनिबार दिउँसो फेला परेको हो।
स्थानीयले अञ्जली हराएको र उनका श्रीमान् हरिराम यादव बेपत्ता भएको सूचना दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा अञ्जलीको शव घरभित्रै गाडिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।प्रहरीले श्रीमान् फरार भएकाले हत्या उनैले गरेको हुन सक्ने आशंका गरेको छ। हरिरामसँगै उनीहरूकी १० महिनाकी छोरीको पनि अत्तोपत्तो छैन।
स्थानीयका अनुसार, गत शनिबार दम्पतीबीच विवाद भएको थियो। भोलिपल्ट हरिरामले श्रीमती बेपत्ता भएको बताए पनि मंगलबारदेखि उनी स्वयं पनि बेपत्ता भए। परिवार नै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।





