एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ११ : महाजन यादव जसपाबाट प्रतिनिधीसभा सदस्यमा २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नं. ४ मा तेस्रो स्थान प्राप्त गरे । सो निर्वाचनमा प्रतिनिधीसभामा बाम गठबन्धनका उम्मेदवार रघुविर महासेठ र प्रदेशको ‘ख’ समेत बाम गठबन्धनकै उम्मेदवार सत्रुघन महतोले जित्दा प्रदेश ‘क’ भने जसपाका ज्ञानेन्द्र यादवले जितेका थिए ।
गत निर्वाचनमा तेस्रो स्थानको मत पाएपनि महाजन हार मानेका छैनन उनी पुन: यसपालिका प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् । संजोग कस्तो, न त गत निर्वाचनको जस्तो मधेश केन्द्रित दल बिचको एकता छ न त उनको यस क्षेत्रमा यसपालि भएको एमाले–जसपाको गठबन्धन नै तर पनि उनी एमाले र कांग्रेसको हेवी वेट दुई उम्मेदवारका बिच पुन: कम्मर कसेर लागेका छन् ।

उनले राजनितिमा हार मान्न नहुने बताएका छन् । निर्वाचनमा हारजित जे भएपनि नेताका लागि बेफाइदा केहि पनि नहुने उनको तर्क छ यद्यपि यसपालि आफुनै जित्ने धेरै आधार रहेको उनको तर्क छ । कांग्रेस एमालेको द्वन्द्वमा फँसेको क्षेत्रको विकल्प आफुहरु मात्र भएको उनको जिकिर छ । प्रदेशसभा ‘क’ बाट जितेर मधेश प्रदेश सरकारको पहिलो गृह मन्त्री (आन्तिर मामिला तथा सञ्चार) बन्न सफल भएका ज्ञानेन्द्र यादव पुन: उम्मेवार छन् ।

उनकै टिकटको कारण जसपाले यस क्षेत्रमा एमाले संगको सहकार्य तोडयो भने जसपा मधेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव कांग्रेस प्रवेश गरि उनको प्रतिस्पर्धी बनेका छन् । साथै कांग्रस परित्याग गरि एमालेबाट सन्तोष यादव पनि उनीहरु संगै मैदानमा छन् । यो प्रदेशसभा प्रतिस्पर्धा पनि रोचक र उत्सुकतापुर्ण हुने चर्चा व्याप्त छ ।