एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : महोतरीको भंगहा नगरपालिकाको आयोजनामा भएको राष्ट्रिय स्तरको मेयर गोल्डकप फुटबलको उपाधी विभागीय टिम त्रिभुवन आर्मी क्लवले जितेको छ । आज करिव २५ हजार दर्शक माझ भएको रोमाञ्चक निर्णायक प्रतिस्पर्धामा अर्का विभागीय टोली एपीएफलाई १ का विरुद्व दुई गोलले पराजीत गर्दै आर्मीले नगद पाँचलाख सहितको प्रथम ट्रफी चुमेको छ ।
नगरपालिकाको सितापुरको सिद्दपुरस्थित श्री मा.बि को विशाल खेलमैदानमा भएको खेलको सुरुवातमैै आर्मीका लागि टंक बस्नेतको कर्नरमा बिमल पाण्डेले हेडिङ गोल गर्दै अग्रता लिएपछि मैदानमा उपस्थिती अधिकांश एपीएफका समर्थकहरु निराश बनेका थिए । तर दोस्रो हाफको सुरुवात ५५ औं मिनेटमा एपीएफका कप्तान नवीन लामाको फ्रि–किकमा रवि थिङ्गले हेडिङवाटै गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइ पुरयाए ।
तर खेलको ७१ औं मिनेटमा आर्मीले पुनः अग्रता बनायो । आर्मीका लागि जितेन्द्र कार्कीले गरेको सो गोल प्रतियोगीताको अन्तिम तथा निर्णायक गोल बन्यो । जित सँगै च्याम्पियन आर्मीले नगद रु. पाँच लाख र ट्रफी हात पारेका छन भने खेल अवधीभर दर्शकको मन जितेका उपविजेता एपीएफले भने दुई लाखमा चित्त बुझाएको छ । साथै प्रतियोगीताको उत्कृष्ट खेलाडी सहितका विभिन्न विद्या सहितका विजेताहरुलाई पुर्व रक्षामन्त्री सरतसिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले खेलको सफलता र दर्शकको उपस्थिती तथा अनुशासनले मनोबल बढेको भन्दै अगामि वर्ष देश वाहिरका समेत टिम सहभागि गराई अन्तराष्ट्रिय स्तरको प्रतियोगीता गरिने बताएका छन् । उनले प्रतियोगीतालाई राष्ट्रिय स्तरमा ख्याती दिलाउन सहयोग गरेका सञ्चारजगतलाई धन्यवाद ज्ञापन गरेका छन् ।