एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : प्रदेश नं. २ कै सर्वाधिक ठुलो नगदराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७ को शुभाराम्भ भएकोे हो ।
अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा शुरु भएको सो उदघाटन कार्यक्रममा प्रदेश नं. २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहाल, प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, महोत्तरीका प्रहरी उपरिक्षक टिका केसी लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

शनिवारदेखि शुरु भएको सो प्रतियोगितामा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता सहित माघ २४ गते सम्म चल्ने छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव (काठमाडोै), धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव (काठमाडौं), सतासीधाम स्पोटिङ्ग क्लव (झापा), लेखनाथ युनाईटेड क्लव (पोखरा), वेङ्गखाडी यूवा क्लव (महोत्तरी), विजय यूथ क्लव (हेटौंडा), बागमती युवा क्लव सहभागी रहेका छन् ।
माघ २४ गते फाइनल प्रतिस्पर्धा रहेको सो प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजयी
आज देखि शुरु भएको प्रतियोगिताको समुदघाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ विजयी भएको हो । त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको पहिलो खेल बराबरीमा रोकिएपछी पेनाल्टी सुट आउटमा आर्मी बिजय भएको हो ।
पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । त्रिभुवन आर्मीले खेलमा दबदबा जारी राखेकोमा धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीलाई ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ ।

भोली नेपाल एपीएफ क्लव (काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव (झापा) बीच प्रतिस्पर्धा हुनेछ ।