एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
मधेश खेलकुद परिषद्को आयोजना तथा मधेश प्रदेश एथलेटिक्स संघको समन्वयमा जनकपुरधाममा राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा देशका सातै प्रदेशबाट महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पुरुषतर्फ २१ किलोमिटर र महिलातर्फ १० किलोमिटर दूरीको दौड सम्पन्न गरिएको मधेश खेलकुद परिषद्ले जनाएको छ।

परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुका अनुसार महिला र पुरुष दुवै विधाका लागि छुट्टाछुट्टै रुट निर्धारण गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। निर्धारित दूरी सफलतापूर्वक पार गर्दै खेलाडीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए।

प्रतियोगितामा दुवै विधातर्फ प्रथम हुने खेलाडीलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
परिषद्का अनुसार राष्ट्रियस्तरको यस प्रतियोगिताले मधेश प्रदेशमा एथलेटिक्स खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलकुद गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेल संस्कृतिको विकासमा समेत टेवा पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ।