एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ को आयोजनामा सम्पन्न वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. २३ ले जितेको छ। फाइनल खेलमा वडा नं. १४ लाई पराजित गर्दै वडा नं. २३ च्याम्पियन बनेको हो। विजेता टोलीले ट्रफीसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ। उपविजेता वडा नं. १४ ले ट्रफीसहित नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष बेचन साह हलुवाईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह प्रमुख अतिथि तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वडा समितिका पदाधिकारी, कर्मचारी, खेलाडी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले खेलकुदले युवामा अनुशासन, प्रतिस्पर्धात्मक भावना, नेतृत्व क्षमता तथा आपसी सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
पुरस्कार वितरणसँगै वडा स्तरीय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।





