एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिने प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गरे।
प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ। सहभागी विद्यालयमा गोगल प्रसाद नमूना माध्यमिक विद्यालय बसहिया, याज्ञवल्क्य संस्कृति नमूना माध्यमिक विद्यालय ज्ञानकुप, रामजानकी माध्यमिक विद्यालय जनकपुरधाम ७, माध्यमिक विद्यालय मुजेलिया, माध्यमिक विद्यालय रूपैठा, सरस्वती माध्यमिक विद्यालय कनकपट्टी तथा संकटमोचन रामरती माध्यमिक विद्यालय जनकपुरधाम ४ लगायत रहेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलकुदले स्वस्थ नागरिक मात्र नभई अनुशासित, सभ्य र जिम्मेवार समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए। समाजको समग्र विकासका लागि महिलाको सहभागिता र नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उनले खेलकुदमा महिला तथा किशोरीलाई समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले महिला खेलाडीको प्रतिभा पहिचान, खेलप्रति आकर्षण अभिवृद्धि तथा विद्यालय तहबाटै खेल संस्कृतिको विकास गर्ने उद्देश्यले उपमेयरकप महिला कबड्डी प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता प्रतियोगिताले छात्राहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र टोलीभावनाको विकास गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत विद्यालय तहमा महिला खेलाडी उत्पादन, खेल प्रतिभाको खोजी तथा महिला खेलकुदको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।