एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ :
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्।
मधेश खेलकुद परिषद्को आयोजनामा शनिबार जनकपुरधाममा सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले रंगशाला निर्माणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। खेलकुद पूर्वाधारको विकास प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनले उल्लेख गरे।
मुख्यमन्त्री यादवले क्रिकेटसहित अन्य खेलको प्रवर्द्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिने बताउँदै प्रदेशका आठवटै जिल्लामा रहेका खेलमैदानको स्तरोन्नति तथा खेल पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी यादवले खेलकुदलाई युवासँग जोड्दै व्यावसायिक बनाउन परिषद्ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले खेलकुद क्षेत्रको विकासले प्रदेशको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै मधेशलाई खेलकुदमय प्रदेश बनाउने अभियानलाई थप प्रभावकारी बनाइने बताए।
शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीसँगै नेपाल एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा हुनेछ।