एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ :
प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत बुधबार जनकपुरधाम र वीरगञ्जमा सम्पन्न खेलहरूमा मधेश प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्।
पर्सास्थित नारायणी रंगशालामा सुदूरपश्चिमविरुद्ध मधेश प्रदेशले ५ विकेटको सहज जित दर्ता गर्‍यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा १६० रन बनाएको थियो। जवाफमा मधेशले ३८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।
मधेशका लागि अरनिको यादवले अविजित ४६ रन बनाए भने मोहम्मद आदिल आलमले ३० बलमा ३४ रनको योगदान दिए। पाँचौँ विकेटका लागि यी दुईबीच भएको ५३ रनको साझेदारी जितको मुख्य आधार बन्यो। रूपेश सिंह १६ रनमा अविजित रहे। यसअघि मयन यादव र कप्तान अनिल शाह १३–१३ रनमा आउट हुँदा हिमांशु दत्त शून्यमै आउट भएका थिए भने पवन सर्राफले २१ रन जोडेका थिए।
सुदूरपश्चिमका अशोक धामीले ७ ओभरमा १ मेडनसहित २६ रन दिएर ३ विकेट लिए भने शेर मल्लले २ विकेट हात पारे।
यसअघि सुदूरपश्चिमको ब्याटिङ कमजोर रह्यो। अभिषेक पालले सर्वाधिक ३३ रन बनाए भने किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रन जोडे। अशोक धामी १९ रनमा अविजित रहे। अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे। मधेशका लागि अरनिको यादवले ३ तथा प्रदीप पासवानले २ विकेट लिए।
यस्तै, जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पराजित गर्‍यो। कर्णालीले पहिले ब्याटिङ गर्दै ३९.१ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो।
१५२ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४४.४ ओभरमा १३५ रनमै अलआउट भएपछि कर्णाली प्रदेश विजयी भएको हो।