एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
जनकपुरधामको कपिलेश्वर खेल मैदानमा आयोजित शहीद सत्यनारायण मेमोरियल कप अन्तर्गत फाइनल खेलमा कपिलेश्वर क्रिकेट टिमले कप्टौल क्रिकेट टिमलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ।
फाइनल खेलमा कपिलेश्वर क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोज्यो। कप्टौल क्रिकेट टिमले दिएको १८४ रनको लक्ष्यलाई कपिलेश्वर क्रिकेट टिमले १४ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन पूरा गर्दै शानदार जित हासिल गर्यो।
कपिलेश्वर क्रिकेट टिमका अनिकेत यादवले ३७ बलमा अविजित ६९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। उनको शानदार प्रदर्शनका लागि उनलाई फाइनल खेलको म्यान अफ द म्याच घोषित गरियो। त्यस्तै, प्रतियोगिताको वेस्ट बलरको उपाधि कप्टौल क्रिकेट टिमका विनय यादवले प्राप्त गरे।
धनुषाका १६ वटा क्रिकेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता बनेको कपिलेश्वर क्रिकेट टिमलाई ३१ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरियो। उपविजेता कप्टौल क्रिकेट टिमलाई २१ हजार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरियो।
पुरस्कार वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले खेलकुदको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र पाजियार, वरिष्ठ पत्रकार श्रीनारायण साह, जसपा युवा नेता अम्बु प्रसाद साह लगायतका व्यक्तित्वहरूले खेलकुदको महत्वबारे धारणा राखेका थिए।