एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २०:
जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल–२०२६’ को ग्रान्ड फिनाले आयोजना हुने भएको छ। थर्ड आई स्टुडियोजको आयोजनामा आगामी असोज ३ गते तिरहुतिया गाछी मैदानमा प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुन लागेको हो।
ग्रान्ड फिनालेमा ‘मिस मिथिलानारी नेपाल–२०२६’ को विजेता घोषणा गरिनुका साथै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको छ।
‘द ब्युटी अफ मिथिला’ नाराका साथ सञ्चालन भइरहेको प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा तथा पहिचानको संरक्षण र प्रवर्द्धनसँगै महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेको आयोजकको भनाइ छ।
प्रतियोगितालाई सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी मिथिला क्षेत्रका महिलालाई सशक्त, आत्मनिर्भर तथा आफ्नो संस्कृति र पहिचानप्रति सचेत बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई स्कुटर, द्वितीय हुनेलाई १ लाख रुपैयाँ र तृतीय हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।