एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९:
जनकपुरधाममा आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिलाई लक्षित गरी ३६५ दिन निःशुल्क भोजन सेवा सुरु गरिएको छ। लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबारदेखि ‘भोजन सेवा’ अभियान सञ्चालनमा ल्याएको हो।
‘भोकलाई भोजन, सेवामा सम्पूर्ण’ भन्ने नाराका साथ सुरु गरिएको अभियानअन्तर्गत वर्षभरि आवश्यकतामा रहेका व्यक्तिलाई निःशुल्क भोजन उपलब्ध गराइने क्लबका चार्टर प्रेसिडेन्ट अनिकेत रुंगटाले बताए।

उनका अनुसार भारतमा सञ्चालन हुँदै आएको ‘रोटी बैंक’बाट प्रेरित भएर जनकपुरधाममा पनि भोकै रात बिताउन बाध्य व्यक्तिलाई लक्षित गरी निःशुल्क भोजन सेवा सुरु गरिएको हो। सेवा जनकपुरधामको अस्पताल रोडस्थित रंगभूमि मैदान (बारहबिघा) अगाडि सञ्चालन गरिएको छ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२६ आरका द्वितीय उपाध्यक्ष किशोर भक्त श्रेष्ठले जनकपुरधाममा निःशुल्क भोजन सेवा सुरु गर्नु प्रशंसनीय कार्य भएको बताए।
क्लबले अभियानलाई दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न समाजका विभिन्न क्षेत्रका व्यक्ति, व्यवसायी तथा संघसंस्थाको सहयोग आवश्यक रहेको जनाएको छ। तत्कालको भोक मेटाउने कार्यक्रमका रूपमा मात्र नभई निरन्तर मानवीय सेवा र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा निःशुल्क भोजन सेवालाई अघि बढाउने क्लबको योजना छ।






