एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८:
जनकपुरधाममा आवश्यकतामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै ३६५ दिन निःशुल्क भोजन सेवा सञ्चालन हुने भएको छ। लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सामाजिक सेवाअन्तर्गत ‘भोजन सेवा’ अभियान शुक्रबारदेखि सुरु गर्न लागेको हो।
क्लबका अध्यक्ष अनिकेत अग्रवालका अनुसार अभियानअन्तर्गत वर्षभरि दैनिक आवश्यकतामा रहेका व्यक्तिहरूलाई निःशुल्क भोजन उपलब्ध गराइनेछ। ‘भोकलाई भोजन, सेवामा सम्पूर्ण’ भन्ने नारासहित सुरु गर्न लागिएको अभियानको शुभारम्भ भदौ १९ गते साँझ ६ः३० बजेदेखि ८ः३० बजेसम्म हुनेछ।
भोजन सेवा जनकपुरधामस्थित अस्पताल रोडमा रहेको रंगभूमि मैदान (बारह बिघा) अगाडि सञ्चालन गरिने क्लबले जनाएको छ।
क्लबका अनुसार आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो। अभियानलाई दीर्घकालसम्म निरन्तरता दिन समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाको सहयोग आवश्यक रहेको अध्यक्ष अग्रवालले बताए।
लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले ‘भोजन सेवा’लाई भोजन वितरणमा मात्र सीमित नराखी निरन्तर सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अभियानका रूपमा अघि बढाउने जनाएको छ।