एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६:
जनकपुरधाममा वर्षौंदेखि अतिक्रमणमा परेको गुठीको जग्गा खाली गराउने अभियान सुरु गरिएको छ। गुठी संस्थान जनकपुरधामले शनिबारदेखि ऐतिहासिक पोखरीका अतिक्रमित डिल खाली गराउन डोजर परिचालन गरेको हो।
अभियानअन्तर्गत पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सातवटा ऐतिहासिक पोखरीका डिल अतिक्रमणमुक्त गराउन थालिएको छ। शनिबार बिहान गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलमा रहेका संरचना हटाउँदै अभियान सुरु गरिएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार पहिलो चरणमा अतिक्रमण हटाउन लागिएका सात पोखरीका डिलमा ६५ वटा घर तथा टहरा रहेका छन्। ती सबै संरचना हटाइने उनले बताए।
उनका अनुसार असार अन्तिम साता पोखरीका डिलको नापनक्सा सम्पन्न गरी मार्किङ गरिएको थियो। त्यसपछि सम्बन्धित जग्गाधनीलाई जानकारी गराइएको र साउन १ गते सार्वजनिक सूचना जारी गरिएको थियो। पटक–पटक सूचना दिँदा पनि संरचना नहटाइएपछि डोजर प्रयोग गरेर अतिक्रमण हटाउन थालिएको हो।
पहिलो चरणमा गोरधोइ पोखरीसँगै विषहरा पोखरी, रतनसागर, दशरथ तलाउ, अरगजासर, मुरलीसर र दिर्घीकासर पोखरीका अतिक्रमित डिल खाली गराइने गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले बताए।
जनकपुरधाममा अतिक्रमणमा परेका ४९ वटा पोखरीलाई क्रमशः अतिक्रमणमुक्त बनाउने संस्थानको लक्ष्य छ। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहका अनुसार हालसम्म ३० वटा पोखरीको नापी सम्पन्न भइसकेको छ भने बाँकी पोखरीको नापी पनि चाँडै पूरा गरिनेछ।
गुठी संस्थानले अतिक्रमण हटाउने अभियानलाई तीन चरणमा अघि बढाउने योजना बनाएको छ। पहिलो चरणमा पोखरीका डिल, दोस्रो चरणमा मन्दिर परिसरमा अतिक्रमणमा परेका जग्गा र तेस्रो चरणमा अन्य स्थानमा रहेका गुठीका जग्गा खाली गराइनेछ।
जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठीका जग्गा लामो समयदेखि अतिक्रमणमा पर्दै आएका छन्। पोखरीका डिल मिचेर घर, टहरा तथा अन्य संरचना निर्माण गरिएका छन् भने गुठीको स्वामित्वमा रहेका अन्य जग्गासमेत अतिक्रमणमा परेको संस्थानले जनाएको छ।
गुठीको अतिक्रमित जग्गा संरक्षण तथा फिर्ता गराउने उद्देश्यले नेपाल सरकारले गठन गरेको कार्यदलले तयार पारेको योजनाअनुसार जनकपुरधाममा अतिक्रमण हटाउने अभियान सुरु गरिएको गुठी संस्थानले जनाएको छ। आगामी चरणमा मन्दिर परिसरलगायत अन्य स्थानमा रहेका अतिक्रमित गुठी जग्गामा समेत डोजर परिचालन गरिने तयारी गरिएको छ।





