एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३:
मिथिला नगरपालिका २ की आशिका कुमारी गिरीका लागि खाना केवल भोक मेटाउने माध्यम होइन, मिथिलाको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संसारसम्म पुर्याउने माध्यम हो । यही सोचका साथ उनले चार वर्षअघि ‘आशुतोष बहुउद्देश्य तथा घरेलु उद्योग’ सञ्चालनमा ल्याएकी हुन् ।
लोप हुँदै गएका मिथिलाका परम्परागत परिकार संरक्षण गर्दै तिनको मौलिक स्वादलाई नयाँ पुस्ता र आधुनिक बजारसम्म पुर्याउने उद्देश्यले आशिकाले उद्योग सञ्चालन गरिरहेकी छन् । मिथिला समाजको जीवनशैलीसँग जोडिएका कुम्हरौरी, अरिकोँचलगायतका परम्परागत परिकार पछिल्लो पुस्ताको खानपानबाट बिस्तारै हराउँदै गइरहेका बेला उनले यस्ता मौलिक परिकारलाई व्यावसायिक उत्पादनमार्फत जोगाउने प्रयास गरेकी हुन् ।
आधुनिक जीवनशैलीसँगै बजारमा विभिन्न प्रकारका जंक फूडको आकर्षण बढिरहेका बेला आशिकाले स्थानीय परिकारलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै उपभोक्तामाझ पुर्याउने अभियान चलाएकी छन् । बालबालिकाको रुचिलाई ध्यानमा राख्दै उनले कुरकुरे, चिप्सलगायतका खाद्य सामग्रीसमेत उत्पादन गर्दै आएकी छन् ।
आशिकाको यही प्रयासले उनलाई राष्ट्रिय स्तरमा समेत पहिचान दिलाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सञ्चालन गरेको ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–ब्यापस्टोन एक्सेलेरेटर’ कार्यक्रममा देशभरबाट छनौट भएका उत्कृष्ट २० उद्यमीमध्ये उनी पनि छनौट भएकी हुन् । मधेस प्रदेशबाट उक्त कार्यक्रममा छनौट हुने उनी एक मात्र उद्यमी हुन् ।
कार्यक्रमका लागि छनौट हुनुअघि उनको उद्योगबाट उत्पादित खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको थियो । उत्पादनको गुणस्तर, उद्यमको सम्भावना र त्यसले समाजमा पार्न सक्ने प्रभावलगायतका आधारमा उनलाई कार्यक्रममा छनौट गरिएको थियो । छनौटपछि आशिकासहितका उद्यमीलाई पाँचदिने तालिम दिइएको थियो । तालिममा उद्योगमा लगानी, उत्पादन व्यवस्थापन, बजार विस्तार, बजारीकरण तथा उद्यमलाई दिगो रूपमा अघि बढाउने उपायबारे प्रशिक्षण दिइएको थियो ।
आशिकाका लागि यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन । उनी यसलाई मिथिलाको मौलिक खानालाई नयाँ पहिचान दिलाउने अवसरका रूपमा लिन्छिन् । पुर्खादेखि चलिआएका धेरै परिकार नयाँ पुस्ताले चिन्न छाड्दै गएको उनको चिन्ता छ । त्यसैले ती परिकारलाई व्यावसायिक उत्पादनमार्फत संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उनको लक्ष्य छ ।
उनका अनुसार मिथिलाका परम्परागत खानामा स्वादसँगै स्वास्थ्यको पक्ष पनि जोडिएको छ । कुम्हरौरी, अरिकोँचलगायतका स्थानीय परिकारको पौष्टिकता र स्वास्थ्यसम्बन्धी विशेषताबारे उपभोक्तालाई जानकारी गराउँदै यसको बजार विस्तार गर्नुपर्ने उनको धारणा छ । उनका लागि मौलिक परिकार संरक्षण गर्नु भनेको खाना मात्र जोगाउनु नभई त्यससँग जोडिएको संस्कृति, परम्परा र पुस्तौँदेखिको ज्ञान संरक्षण गर्नु पनि हो ।
आशिकाले अब आफ्नो उद्योगका उत्पादनलाई नेपालका विभिन्न बजारमा विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने तयारी गरेकी छन् । मिथिलाको मौलिक स्वादलाई विदेशसम्म निर्यात गरी यस क्षेत्रका परिकारको छुट्टै पहिचान स्थापित गर्ने उनको सपना छ ।
घरेलु उद्योगबाट सुरु भएको आशिकाको यात्रा अहिले अन्तर्राष्ट्रिय बजारको लक्ष्यसम्म पुगेको छ । कुनै दिन संसारको कुनै कुनामा ‘मिथिलाको खाना’ खोज्दा कुम्हरौरी, अरिकोँचलगायतका मौलिक परिकार भेटियोस् भन्ने उनको चाहना छ ।
मिथिलाको संस्कृति, स्वाद र पहिचानलाई उद्यमसँग जोडेर अघि बढिरहेकी आशिकाको प्रयासले स्थानीय मौलिक उत्पादनलाई संरक्षण, परिष्करण र प्रभावकारी बजारीकरण गर्न सके स्थानीय स्वाद नै अन्तर्राष्ट्रिय पहिचानको आधार बन्न सक्ने सम्भावना देखाएको छ ।





